विदेश बसेर नेपालका नेताहरुलाई फेसबुकमा गाली गर्ने गर्नुभएको छ ? होसियार !

काठमाण्डु टुडे २०८० असोज १६ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, १६ असोज–के तपाईं विदेशमा हुनुहुन्छ ? विदेशबाट नेपालमा भएका मानिसहरुबारे सामाजिक सञ्जालमा अनर्गल आरोपसहितको पोष्ट गर्ने गर्नुभएको छ ? यदि त्यसो गर्नुभएको छ भने होसियार ।

अब विदेशमा बसेर नेपालमा बस्नेहरुबारे अश्लिल वा निराधार गालीगलोज गर्न बन्द गर्नुहोस् । अन्यथा प्रहरीको फन्दामा पर्नुहुनेछ । विदेश बसेका बेला फेसबुकमार्फत जथाभावी गालीगलौज गर्ने रुपन्देहीका एक युवक पक्राउ परेका छन् ।

जिल्लाको सैनामैना नगरपालिका–२ का दीपक गलामी पक्राउ परेका हुन् । उनलाई नेपाल आएको मौका पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

विदेश बस्दा उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई अश्लिल गालीगलौज गर्ने गरेका थिए ।

अरुका पोष्टमा गएर जथाभावी कमेन्ट गर्ने र अश्लिल गालीगलौजयुक्त पोष्ट गर्ने गरेका कारण उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । उनले गत २८ अगस्टमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरूद्ध अश्लिल शब्दसहित पोष्ट गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले गलामीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै अश्लिल शब्द प्रयोग गरेर कमेन्ट तथा पोष्ट गर्ने गरेको भन्ने निवेदन परेकाले नियन्त्रण्मा लिएर साइबर अपराधमा कारबाही अघि बढाउन लागिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us