प्रचण्डलाई मेन्सन गर्दै बाबुरामको ट्विटः तपाईंको चीन भ्रमणलाई तीर्थयात्रा भयो, आसेपासको प्रशंसामा नरमाउनुस्

काठमाण्डु टुडे २०८० असोज ११ गते १८:५३ मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले मुलुकको हितमा कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार ट्वीट गर्दै उनले प्रचण्डको चीन भ्रमण तीर्थयात्रामा सीमित भएको दाबी गरेको बताए । प्रधानमन्त्रीको चीन भ्रमण नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुनुपर्नेमा तीर्थयात्रामा सीमित भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले आफैँले अपेक्षा गरेभन्दा भ्रमण राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने प्रमुख हुने भट्टराईले बताए ।

नेपाल अहिले आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको भन्दै उनले यस्तो अवस्थामा दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्नुपर्नेमा सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा प्रचण्ड रमाएको आरोप लगाए ।

नेपालले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको स्मरण गराए । उनले चीन विश्वकै महाशक्ति बन्ने दिशातिर गइरहेको बेला उसले अघि सारेको बीआरआइ र जीडिआईलाई कसरी नेपालको दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा भ्रमण केन्द्रित हुनुपर्ने चर्चा गरे ।

‘२१औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको बेला हामीले उसंगको निकट सम्बन्धमार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो । त्यसका निम्ति उसले अघि सारेको बीआरआइ र जीडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्थ्यो’, भट्टराईले भनेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायातरपारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो१तीर्थाटन त हुँदै गर्थ्यो ।’

उनले भारत र चीनको अर्थतन्त्रको मूल्य शृंखलासँग तालमेल मिलाएर अघि नबढी नेपालमा दोहोरो अंकको आर्थिक विकास सम्भव नरहेको स्पष्ट गरे । भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ट्विटमा मेन्सन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us