क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाण्डु टुडे २०८० असोज ६ गते १८:२१ मा प्रकाशित

क्यालिफोर्निया-गैरआवासीय नेपाली  संघ, क्यालिफोर्निया च्याप्टरले नेपालीहरुको बाक्लो उपस्थिति रहेको क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले अनुरोध पत्र बुझाउँदै एक लाख नेपाली रहेको सो ठाउँमा यथाशीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको हो ।

क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्वारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुङ्गानाले न्युयोर्क पुगेर बुधवार प्रधानममन्त्रीलाई बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई अनुरोधपत्र बुझाएका ढुङ्गानाले प्रधानमन्त्री एनआनरएनहरुको मागमा सकारात्मक भएको बताए । ढुङ्गानाले भने, “प्रधानमन्त्रीले क्याबिनेटमा प्रस्ताव राख्छु भन्नुभएको छ। परराष्टमन्त्रीले पनि जिम्मेवार निकायसँग परामर्श गरेर अगाडी बढ्ने भन्नुभएको छ।”

प्रधानमन्त्रीलाई बुझाइएको अनुरोध पत्रमा क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपालीहरुको बसोबास भएको र अत्यावश्यक कामको लागि नेपालीहरूलाई कठिनाइ भएको स्मरण गराउँदै कन्सुलर कार्यालय शीघ्र स्थापनाको माग गरिएको छ।

नेपालीहरूले आफ्नो आवश्यक कागजातको लागि निकै कष्ट र व्ययभार बेहोर्नुपरेका अवगत गराउँदै पत्रमा भनिएको छ–“हालका प्रधानमन्त्रीकै पहलमा कन्सुलर कार्यालयको स्थापना हुनेछ भन्ने विश्वास लिएका छौँ।”

विगत लामो समयदेखि क्यालिफोर्निया कन्सुलर कार्यालय स्थापनाको लागि यहाँका विभिन्न सामाजिक संघ संस्थाहरूले आवाज उठाउँदै आएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us