गुडिरहेको जिपमा ढुंगा खस्दा प्रहरी सहायक हवल्दारसहित तीनको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १३ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– पाल्पाको तानसेन–तम्घास सहायक राजमार्गअन्तर्गत रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा बुधबार बिहान गुडिरहेको जिपमा ढुंगा खस्दा मृत्यु भएको सबै तीनै जनाको सनाखत भएको छ ।

लु १ज४६०० नम्बरको स्कार्पियो जिपको पछिल्लो भागमा पहिरोसँगै खसेको ठूलो ढुंगा लागेको थियो । मृत्यु हुनेमा गुल्मी रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार ३२ वर्षीय यमबहादुर गोदार र पोखरा महानगरपालिका–२५ का विनोद तिम्सिना रहेको प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले शव पोष्टमार्टमपछि सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी भएको बताए । दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थापाले बताए ।

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us