बुटवल, १२ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालको संसदले पारित गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई जानकारी दिनुपर्ने बताएका छन् ।
समाजवादी मोर्चा आवद्ध चार दलले मंगलबार बुटवलमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले अमेरिकाले संसदले पास गरेको व्याख्यात्मक टिप्पणी अस्वीकार गरिएको भए जनतालाई भन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै १२ बुँदे व्याख्यात्मक टिप्पणी समेत पारित गरेको थियो । नेपालले यथास्थितिमा एमसीसी पारित नहुने भएपछि व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आएको समरण गरे । नेपालले यस्तो बोलिरहँदा मंगलबारै एमसीसी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन् ।
नेपालले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हुन नसक्ने स्पष्ट गरे । इण्डोप्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको सैनिक गठबन्धनको अवधारणा भएकाले आफूहरु त्यसमा जान नसक्ने उनको भनाइ थियो । नेता नेपालले आफूहरु असंलग्नताको सिद्धान्तमा विश्वास गर्ने भन्दै नेपालको भूमि कुनै पनि मित्रराष्ट्र वा विदेशी शक्तिविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट गरे ।
सत्ताभन्दा देश ठूलो भएकाले पहिला देश बचाउन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘भोलिदेखि एमसीसी लागू हुने कुरा सुनिँदैछ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने जनतालाई जानकारी गराउनुस्’, उनले भने, ‘गठबन्धनलाई भन्नुस् । मोर्चालाई भन्नुस् । विदेशीकासामु हामी झुक्नुपर्ने कारण छैन ।’
नेपालले विदेशीका अनुचित धम्की सुन्न र स्वीकार गर्न जरुरी नहुने उनको स्पष्टोक्ति थियो । नेपालले सत्ताभन्दा मुलुक ठूलो भन्दै अनावश्यक धम्की आएको भए देश वा सत्ता रोज्नुपर्दा आफूहरुले देश रोज्ने बताए ।