धरानमा सदभाव भड्काउने गतिविधि कसैको हितमा छैनः देउवा

काठमाण्डु टुडे २०८० भदौ ९ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ९ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले धरानमा सामाजिक, धार्मिक, राजनीतिकसहित समग्र सद्भाव कायम गर्न अपिल गरेका छन् ।

देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने बताए । यस्ता कुराले धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने देउवाको भनाइ छ ।

‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो’, विज्ञप्तिमा देउवाले भनेका छन् ।

नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसेको भन्दै देउवाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता प्रदान गरेको कसैले भुल्न नहुने स्मरण उनले गरे ।

अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुन देउवाले अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us