
सिन्धुपाल्चोक, ९ भदौ– अबिरल वर्षाकासँगै मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालय भवन बगाएको छ ।
वडाअध्यक्ष बुद्धिमान तामाङले बार परिवर्तन गरी बगेको मेलम्चीले विद्यालय भवन बगाएको जानकारी दिए । यसअघि शुक्रबार बाढीले विद्यालयको शौचालय बगाएको थियो ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबार विद्यालय बिदा गरिएको थियो ।
बाढीको जोखिम उच्च भएपछि प्रहरी, स्थानीय र जनप्रतिनिधिले विद्यायका डेस्क, बेन्च, पुस्तकालय, कम्म्युटरसहित शैक्षिक सामग्री र कागजपत्र विद्यायबाट निकालेर सुरक्षा स्थानमा सारेका थिए ।
बाढीका कारण हेलम्बु –४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेको वडाअध्यक्ष तामाङले बताए । कतिपय परिवार घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।
बाढीका कारण मेलम्ची–हेलम्बु सडक विभिन्न स्थानमा भत्किएको छ । दुई वर्षअघि मेलम्चीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको थियो ।