
काठमाण्डु, ९ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सदभाव कायम राख्न सबैलाई अपिल गरेको छ ।
आयोगले शनिबार एक अपिल जारी गर्दै साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सम्वद्ध सबै पक्षलाई अपिल गरेको हो ।
धरानमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधात्रा जारी गर्दा उत्पन्न परिस्थितिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न हिन्दूवादी सहूमले प्रदर्शनको घोषणा गरेपछि अप्रिय घटना हुनसक्नेतर्फ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
संविधानको प्रस्तावनामै नेपा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विधिधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उल्लेख गरिएको आयोगले स्मरण गराएको छ ।
‘उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सदभाव कायम गर्नु गराउनु सबैको कर्तव्य हुन आउँछ’, आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हिन्दू मन्दिर अगाडि चर्च निर्माण गरेको र धरान क्षेत्रमा केही दिनअघि गोरु काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि सर्वत्र धरानको सामाजिक सदभाव बिथोलिन सक्ने भन्दै चिन्ता व्यक्ति गरिएको छ ।