विराटनगर, ९ भदौ– मोरङको बेलबारीस्थित बेतना सिमसारमा अति सङ्कटापन्न सूचीमा सूचीकृत ‘ब्लाक सफ्टसेल’ नामको कछुवा फेला परेको छ ।
जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ हो । वैज्ञानिकहरुको एक टोलीले उत्त क्षेत्रमा सो जातका दुई दर्जन बढी कछुवा रहेको पत्ता लगाएको हो । स्थानीय भाषामा त्यसलाई ‘मयूर प्वाँखे कछुवा’ भन्ने गरिएको थियो ।
खोजमा संलग्न वातावरण पत्रकार एवं प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले नेपालमा यो नयाँ प्रजाती भएको बताए । अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा अनुसन्धान गरिएको थियो ।
नरम स्वभाव र मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने अधिकारीले जानकारी दिए ।
यसअघि उक्त जातको कछुवा दक्षिण एभारत, पाकिस्तान र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने गरेको थियो ।
अनुसन्धानकर्ताहरुले उक्त प्रजातीको कछुवा संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । यसअघि नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् ।