
काठमाण्डु, ८ भदौ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल फेरि संवैधानिक राजतन्त्रको एजेण्डामा फर्किएको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले मुलुकको राजतन्त्र पुनस्र्थापना जरुरी रहेको भन्दै सो एजेण्डामा फर्किने निर्णय गरेको हो ।
बैठकको जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजसंस्थासहित प्रजातन्त्र पार्टीको लक्ष्य हुने बताए ।
‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ’, उनले भने, ‘ राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ ।’
देशको धरातलीय अवस्था, पार्टी कार्यकर्ता, सहयोगी, शुभेच्छुकको भावना र सुझावलाई सम्मान गर्दै पार्टीले राजसंस्थासम्बन्धी विगतको अवधारणामा पुनर्विचार गर्ने निर्णय लिएको थापाले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा भ्रष्ट व्यवस्था चलिरहेकाले त्यसको अनत्य जरुरी रहेको उनको दाबी थियो । सबल र समृद्धि हिन्दु अधिराज्य स्थापनाको मान्यतासहित पार्टीले आन्दोलनका कार्यक्रम अगाडि सारेको थापाले उल्लेख गरे । केही वर्षभित्रै राजसंस्था पुनर्स्थापना गर्ने दाबी थापाको छ ।
पार्टी महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले राप्रपा छाडेर २०७८ फागुन १ गते २०६३ सालमा आफैंले स्थापना गरेको राप्रपा नेपाल ब्युँताएका थिए ।
त्यससँगै उनले आफूलाई पार्टीको निर्वाचनमा हराउन पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेकाले राजसंस्थाको एजेण्डा नबोक्ने नीति लिएको घोषणा गरेका थिए ।
पाथा २०७९ मंसिरमा भएको भएको आमनिर्वाचनमा एमाले चुनाव चिन्हबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।
आफ्नै गृहथलो मकवानपुर–१ बाट राप्रपा उम्मेदवार दीपक सिंहसँग भारी मतान्तरले पराजित भए । उनको दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ देशभरबाट जम्मा १ हजार मत मात्र पाउन सक्यो ।