नारायणकाजी भन्छन्ः तस्कर, ठग र भ्रष्टाचारीहरू हामीसँग आत्तिएका छन्

काठमाण्डु टुडे २०८० भदौ ८ गते १९:२९ मा प्रकाशित

ललितपुर, ८ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठले सरकारका कामबाट आमजनतामा भने आशा जगाएको बताए ।

सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको उनको भनाइ थियो ।

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् ।

तर अधिकांश जनताहरू यो अभियानबाट खुसी भएका छन्’, श्रेष्ठले भने, ‘ लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानबाट आमजनतामा आशा पलाएको छ ।’

सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाएकाले त्यसबाट पछि नहट्ने प्रतिबद्धता जनाए । ‘सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us