रास्वपा दलको बैठकः समिति सभापतिमा बाइपास गरिएकामा छलफल हुने

काठमाण्डु टुडे २०८० भदौ ८ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, ८ भदौ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

सो पार्टीका प्रमुख सचेकत सन्तोष परियारले बैठक साँझ ५ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताए । पार्टीले संसदमा खेल्ने भूमिका, पार्टीका तर्फबाट संसदमा दर्ता गरिएका सार्वजनिक महत्वका संकल्प प्रस्ताव र संसदीय समिति सभापतिहरुको निर्वाचन लगायत एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको परियारले जानकारी दिए ।

बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी एमालेले संसदका १० विषयगत र दुई संयुक्त समिति सभापतिमा भागबण्डा गरेको विषयले बैठकमा प्रवेश पाउने एक सांसदले बताए । सरकारमा रहेका दलहरुले मात्र सभापतिमा भागबण्डा गरेकामा रास्वपाले यसअघि नै असन्तुष्टि जनाइसकेको छ । संसदीय समिति सभापतिमा संसदको चौथो दल रास्वपा र पाचौं दल राप्रपालाई ठूला दलले निषेध गरेका छन् ।

बिहीबार सभामुख अगुवाइमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक र सचेतकहरुको बैठकले १२ भदौमा समिति सभापति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो । दलहरुबीचको भागबण्डाअनुसार एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक समिति र दुवै सदनको संयुक्त समितिका रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति पाउनेछ । बाँकी ९ समिति सभापति सत्तारुढ घटकले बाँडेर लिने भएका छन् ।

काँग्रेसले ४, माओवादी केन्द्रले २,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टी पार्टीले एउटाएउटा विषयगत समितिको सभापति लिने सहमति भएको छ ।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको सभापति काँग्रेसले लिनेछ । माओवादी केन्द्रले कानून न्याय तथा मानवअधिकार समिति र पूर्वाधार तथा विकास समितिको सभापति पाउने छ ।

जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध, एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचनाप्रविधि समिति र जनमतले उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति लिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us