
काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
गौरा पर्वका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । सुदूरपश्चितम प्रदेशका जनताको भावनालाई सम्मान गर्दै गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नेसम्बन्धी प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लैजाने उनको भनाइ थियो ।
‘आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु’, उनले भने ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरेर त्यहाँको शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने काम गरेको स्मरण गरे ।
प्रधानमन्त्रीले गेटालाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।
यस्तै कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको जनाए ।
फरक प्रसंगमा उनले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा परिवर्तन नआएसम्म नेपाल समृद्ध हुनै नसक्ने उल्लेख गरे ।