कोशीका मुख्यमन्त्री थापालाई पदमुक्त गर्न माग गर्दै रिट

काठमाण्डु टुडे २०८० भदौ ६ गते १८:०४ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार वारेसमार्फत थापाले लिएको विश्वासको मतविरुद्ध रिट दर्ता गराएको हो । सर्वोच्च अदालत प्रशासनले रिटको शेपी बिहीबारका लागि तोकिएको जनाएको छ ।

मुख्यमन्त्री थापाले असंवैधानिक तवरले विश्वासको मत लिएको भन्दै कार्कीले उत्प्रेषणयुक्त परमादेश तथा जो चाहिने उपयुक्त आदेश गरिपाऊँ भनी रिट दायर गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । त्यस क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका काँग्रेस सांसद इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेका थिए । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकको अध्यक्षता नगरी उपसभामुख सिर्जना दनुवार काठमाण्डु हिंडेकी थिइन् ।

दनुवार अनुपस्थित भएपछि सभामा उपस्थितमध्येका ज्येष्ठ सदस्य मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । यसअघि थापा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा २९ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला पनि एमालेले सभामुखले संविधान मिचेर मुख्यमन्त्रीलाई मत दिएको भन्दै थापाको पद खारेजीको माग लिएर सर्वोच्च गएको थियो ।

सर्वोच्चले रिट निवेदकको मागअनुसार थापाको नियुक्त असंवैधानिक रहेको ठहर गर्दै मुख्यमन्त्रीलाई बर्खास्त गरेको थियो । अघिल्लो नजिरका आधारमा यसपटक पनि मुख्यमन्त्रीको पद बर्खास्त हुने उनको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us