
काठमाण्डु, ६ भदौ– एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले आज सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले अहिले केहीबेरमा रिट दायर हुने बताए । एमालेले बैठकको अध्यक्षता गरेका सदस्यले समेत मतदान गरी थापाले विश्वासको मत लिनु असंवैधानिक भएको बताउँदै आएको छ । मुख्यमन्त्री थापाले ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्माइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेका थिए । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमर्ला राजीानमा गराएर प्रदेशसभाको बहुमत सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्री बनाएको थियो । गौतम हाल आर्थिक मामिला तथा योजनामन्त्री छन् ।
सभामुख नभएपछि बैठक सञ्चालन गर्नुपर्ने दायत्व बोकेको उपसभामुख श्रृजना दनुवार बैठक बस्नु केही घण्टाअघि अस्वस्थ भएको भन्दै काठमाण्डु हिंडिन् । सत्ता पक्षले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई कृषिराज्यमन्त्री बनायो ।
एमालेले उपसभामुख दनुवारलाई बैठक सञ्चालन नगर्न मात्र भनेन, मण्डलपछिका आफ्ना ५ जना ज्येष्ठ सदस्यलाई संसदमा अनुपस्थित हुन निर्देशन दियो । त्यसपछिका ज्येष्ठ सदस्य काँग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । बैठकको अध्यक्षता गर्नेले सरकार गठनमा मत दिन मिल्दैन । तर, उनले मत दिए र फेरि रोष्ट्रममा बसेर मुख्यमन्त्री थापाले प्रदेशसभाका ४७ सांसदको समर्थन प्राप्त गरेकाले विश्वासको मत पाएको घोषणा गरे ।
एमाले प्रमुखसचेतक भण्डारीले नैतिकताका आधारमा थापा मुख्यमन्त्रीको कुर्सीमा बस्नै नमिल्ने बताए । ‘उहाँ नैतिकताका आधारमा एक मिनेट पनि कुर्सीमा बस्न मिल्ने होइन’, भण्डारीले भने, ‘हामी असंवैधानिक रुपमा विश्वासको मत लिने काम भएकाले उहाँलाई बर्खास्तीको माग गरेर केहीबेरमा रिट लिएर सर्वोच्च जाँदैछौं ।’
यसअघि गत महिना पनि थापा सभामुखलाई मत दिन लगाएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेले जारी गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सुरु नियुक्ति नै खारेज गरी मुख्यमन्त्री नियुक्तिको अर्को प्रक्रियामा जान आदेश दिएको थियो ।