
काठमाण्डु, ६ भदौ– सरकारले स्वर्गीय जेबी (जुठबहादुर) टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
टुहुरेका ‘आमा दिदी बैनी हो’, ‘कालो वनको बीचैमा’, ‘बसाइँ हिंड्नेको ताँतीले, बस्नेको मन रुँदछ’ ‘हा हा काली, हा छैन नि माली हा’, ‘छोराहरु हो, छोरीहरु हो’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘किसानको मुटु छामेर हेरे’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो’ लगायत गीत चर्चित छन् ।
तत्कालीन पञ्चायतविरोधी आन्दोलनमा गीत गाउँदै देशभर हिंडेका टुहुरे तत्काली नेकपा कोशी प्रान्तीय कमिटी हुँदै नेकपा मालेमा संगठित भएका थिए । उनी २०२० को दशकदेखि नै राजनीतिक र सांगितीक यात्रामा सक्रिय रहे । माले–एमाले एकतादेखि २०६६ सालसम्म उनले एमालेको सांस्कृतिक फाँटको जिम्मेवारीमा रहेर काम गरे ।
टुहुरेले नेपालको निरंकुशताविरोधी आन्दोलनमा पटकपटक गीत संगीतको माध्यमबाट जागरण ल्याउने भूमिका खेलेका छन् । २००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको २०७८ साल भदौ १० गते काठमाण्डुमा निधन भएको थियो ।
माले, एमाले हुँदै जीवनको उत्तराद्र्धमा उनको राजनीतिक आवद्धता नेकपा माओवादी केन्द्रसँग थियो । माओवादीले टुहुरेलाई दोश्रो संविधानसभामा संविधानसभा सदस्य बनाएको थियो ।