
काठमाण्डु, ६ भदौ–६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे निर्णय गर्न प्रतिनिधिसभामा रहेका राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठक बसेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा शीर्ष नेताको बैठक बसेको हो । यसअघि हिजै सहमति गरी अवरुद्ध संसद खुलाउने भनिए पनि स्वास्थ्यको कारण देखाउँदै एमाले अध्यक्ष केपी ओली बैठकमा अनुपस्थित भएपछि बैठक आजका लागि सारिएको थियो ।
एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर गत १० साउनयता पटकपटक संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।
एमालेकै मागअनुसार सोमबार राति अबेर सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकार छानबिनका लागि आयोग बनाउन तयार भएको थियो ।
बैठकले गठन गरेको तीन दलीय कार्यदलले सोमबार नै जाँचबुझ आयोगसम्बन्धी तीन पृष्ठ लामो मस्यौदा तयार पारेको छ ।
मस्यौदाका लागि एमाले संसदीय दलका उपेनता सुवासचन्द्र नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डेको कार्यदल बनेको थियो ।
कार्यदलले तयार पारेको मस्यौदामा तस्करीका छानबिन गर्न उच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव गरिएको छ । यस्तै सुन तस्करी प्रकरणमा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छानबिन नरोक्ने पनि उल्लेख छ ।
गत २ साउनमा विमानस्थल भन्सार पास भएर बाहिरिएको तस्करीको ६० केजी सुन राजश्व अनुसन्धान कार्यालयले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।