गजुरीबाट त्रिशुलीको भेलमा खस्यो यात्रुसहितको बस

काठमाण्डु टुडे २०८० भदौ ६ गते ११:५६ मा प्रकाशित

धादिङ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गुडिरेहको बस त्रिशूली नदीमा खसेको छ ।

गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बस बिहान १० बजेर ४० मिनेटमा त्रिशूलीमा खसेको हो । मिश्रले आफू घटनाबारे जानकारी पाएलगत्तै त्यसतर्फ हिंडेको र थप विवरण आउन बाँकी रहेको बताए ।

बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन । मिश्रले घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार जारी राखेको बताए ।

लगातारको वर्षातका कारण त्रिशुलीमा बाढी आएकाले उद्धारकार्य प्रभावित भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us