देउवा र ओली प्रचण्डकै अगाडि नारायणकाजीमाथि कसरी झम्टिए ?

काठमाण्डु टुडे २०८० भदौ ५ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– सत्तारुढ काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आक्रोशित छन् ।

देउवा र ओलीले बालुवाटारमा आइतबार र सोमबार बसेको सर्वदलीय बैठकमा श्रेष्ठलाई हप्काएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राजी गतिरोध अन्त्यको प्रयासमा बैठक बोलाएका थिए । बैठकमा श्रेष्ठ पनि सहभागी थिए । श्रोतका अनुसार देउवा आइतबार श्रेष्ठमाथि झम्टिएका थिए ।

नक्कली भुटानी शरणार्थी र ६० केजी सुन प्रकरणमा पक्राउ परेकाहरुलाई शारीरिक यातना दिएर घटनामा संलग्नता नभएकाहरुको नाम लिन नलाएको भन्दै देउवा झोक्किएका थिए । ‘तपाईं धेरै बढ्ता हुनुभएको छ’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘पक्राउ परेकाहरुलाई यातना दिएर आफूलाई रिस उठेका मानिसहरुको नाम पोल्न किन लगाउनुहुन्छ तपाईं ?’ । जवाफमा गृहमन्त्री श्रेष्ठले ‘सभापतिजी कति धेरै रिसाउनुभएको’ भनेका थिए ।

देउवा धेरै रिसाएपछि काँग्रेस उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उनलाई रोक्ने प्रयास गरेका थिए । खड्काले यस्ता कुरा यहाँ नगरौं, पछि कुरा गरौंला भनेर श्रेष्ठलाई रोक्न खोजे । तर, देउवा कहाँ कुरा गर्ने त ? भन्ने खड्कामाथि नै खनिएका थिए । देउवा बोलेपछि ओलीले पनि थपे । उनले श्रेष्ठलाई आफूहरुले राम्ररी चिनेको भन्दै जनतामा राम्रो छु भन्ने भ्रम छरेर नहिँड्न भने । सोमबारको बैठकमा देउवा आइतबारको तुलनामा कम आक्रोशित देखिएको श्रोतको भनाइ छ । तर, ओली भने थप आक्रोशित मुद्रामा थिए । उनले सय केजी सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न भएको आरोप लगाए ।

नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि सहयोग नगरी पदमा बसिरहेको भन्दै उनले श्रेष्ठको आलोचना गरे । ओलीले आफूलाई ‘राष्ट्रिय हिरो’ का रुपमा प्रस्तुत गरेर अरुमाथि बदख्याईं गर्ने काम बन्द गर्न चेतावनी दिए । सुन तस्करी प्रकरणमा संलग्न भए कुनै कोट (बालकोट) र टार (बालुवाटार÷खुमलटार) लाई छाड्दिन भन्ने अभिव्यक्ति किन दिएको भन्दै उनले श्रेष्ठलाई हप्काए ।

‘आफू एरपोर्टबाट सय केजी सुन छिराउने अनि अरुलाई कोट र टारलाई पनि छाड्दिन भन्दै हिंड्ने ? तपाईंलाई यस्ता कुरा गर्र्दै हिंड्न लाज लाग्दैन ? अहिलेसम्म किन तपाईं पदमा बसिरहनुभएको छ ? उहिल्यै छाड्नुपर्ने मान्छे नैतिक रुपमा कसरी गृहमन्त्रीको कुर्सीमा बस्न सक्नुभएको तपाईंले ? अझ अरुलाई मुख छाडेर आफू हिरो बन्न खोज्ने ? तपाईं बाहिर जस्ता देखिनुहुन्छ त्यस्तो मान्छे होइन भन्ने हामीलाई थाहा छ । अब सबैलाई थाहा हुँदै जानेछ’, ओलीले भने । ओलीले एकोहोरो हप्काउँदा पनि कसैले बीचमा बोलेका थिएनन् । श्रेष्ठले ओलीका कुरा सुनिरहेको र जवाफ नफर्काएको बालुवाटार श्रोतले बतायो ।

एमालेले ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर गत १० साउनयता लगातार संघीय संसदको दुवै सदनका बैठक अवरुद्ध गर्दै आएको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार राति अबेरसम्म बसेको बैठकले तस्करी छानबिनका लागि न्यायिक आयोग गठनको सैद्धान्तिक सहमति भएको छ ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेकाले समिति गठनको औचित्य नभएको बताउँदै आएका थिए । एमाले र ओलीले भने तस्करीमा स्वयं गृहमन्त्री र अर्थमन्त्री डा. प्रकाशशरण महत संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरोधी अभियान नरोकिने बरु सोही कारण सरकार छाड्नुपरे पनि तयार रहेको बताउँदै आएका छन् ।

राजश्व अनुसन्धान विभागले २ साउनमा भन्सार पास भएर बाहिरिएको तस्करीको ६० केजी सुन काठमाण्डुको सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । एमालेले सुरुदेखि नै त्यति ठूलो संगठित तस्करी गृह र अर्थ मन्त्रालयका उच्च अधिकारीको संलग्नताबिना हुनै नसक्ने जिकिर गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us