एमालेसँग राष्ट्रपति दुःखी

काठमाण्डु टुडे २०८० भदौ ५ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पोडेलले आफूले सक्रियता देखाउन नखोजेको प्रष्टीकरण दिएका छन् ।

एमालेबाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग शतिलनिवासमा मंगलबार आफैंले बोलाएको बैठकमा राष्ट्रपतिले सक्रिय हुन खोजेको भन्ने आशंका नगर्न आग्रह गरे ।

आलंकारिक राष्ट्रपतिले एजेण्डासहित बैठक बोलाएको भन्दै एमाले सहभागी भएन । संसदमा जारी गतिरोध अन्त्यको प्रयासमा राष्ट्रपतिले दलका नेतालाई बोलाएर छलफल गरेका हुन् ।

‘सर्वदलीय बैठक राखेर सक्रियता देखाउन खोजेको होइन,’ राष्ट्रपति पौडेलले भने, ‘म लोकतन्त्र स्थापनामा लाग्दा धेरै दुस्ख पाएको मानिस हुँ ।’ उनले राष्ट्रप्रमुखका रुपमा मुलुकमा विद्यमान समस्याप्रति चिन्ता र चासो राख्नु आफ्नो कर्तव्य भएको प्रष्टीकरण दिए । उनले सबै दलका नेतासँग भेट हुन नपाएकाले भेटेरै मुलुकको अवस्थाप्रति चिन्ता जाहेर गर्न बोलाएको बताए ।

उनले संविधानले तोकेको सीमाबारे जानकारी रहेको भन्दै संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रबर्द्धन गर्ने जिम्मेवारी राष्ट्रपतिको भएको जिकिर गरे ।

उनले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास आफूलाई भएको भन्दै त्यसमा सचेत रहन दलहरुलाई आग्रह गरे । राजनीतिक दल र सरकारले शक्तिपृथकीकरण र शक्ति सन्तुलनको भावनाअनुसार अघि बढ्न सुझाए । शान्ति प्रक्रिायका बाँकी काम टुंगोमा पुग्न नसकेकामा उनले चिन्ता जनाए ।

दलहरूबीच सहमतिका लागि भएको सकारात्मक प्रयासले संसदमा जारी अवरोध हट्ने संकेतले आफू खुसी भएको बताए । दलहरुबीच राजनीतिक विषयमा बहस, विवाद, र तिक्तता भए पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्ने उनको सुझाव छ ।

उनले विगतमा अहिलेको भन्दा विषम परिस्थितिमा समेत नेपालका राजनीतिक दलहरुले संवाद र सहमतिबाटै निकास खोजेको स्मरण गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us