आज देशभर भारी वर्षा

काठमाण्डु टुडे २०८० भदौ ५ गते ७:३९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको तथा भारत उत्तर मध्य प्रदेश र आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण वर्षात हुने महाशाखाले जनाएको छ ।

देशभर सामान्य तथा पूर्ण बदलीको अवस्था रहेको विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी प्रधानाङ्गले दिए ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

राति देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us