के नारायणकाजी र प्रकाशशरण महत पनि छानबिन दायरामा पर्दैछन् ?

काठमाण्डु टुडे २०८० भदौ ५ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– तस्करीको ६० केजी सुन प्रकरण छानबिन गर्न बन्ने उच्चस्तरीय समितिको कार्यादेश तयार पार्न गठित मस्यौदा समितिको बैठक बस्दैछ ।

बैठकले समितिको कार्यादेश र संरचनाको खाका तयार पारी दिउँसो २ बजे बस्ने शीर्ष नेताको बैठकमा पेश गर्ने कार्यदल सदस्य एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो ।

बैठकले समितिको निर्देशित सर्तहरू तयार पार्न कांग्रेस नेता रमेश लेखक, एमाले नेम्वाङ र माओवादी केन्द्रका हितराज पाण्डे रहेको कार्यदल बनाएको थियो ।

कार्यदलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि छानबिनको दायरामा ल्याउने गरी कार्यादेश तयार पार्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै गत १० साउनयता लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us