प्रतिनिधिसभाको बैठक स्थगित

काठमाण्डु टुडे २०८० साउन २२ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २२ साउन- प्रतिनिधिसभाको बैठक भोली दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक सहमति नजुटेपछि बैठक सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते भित्रिएको सय किलो हाराहारी तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै पटक पटक संसदमा अवरोध कायम गरेको छ ।

यता सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ । सोमबार दिउँसो साढे १२ बजे बसेको बैठकमा सहमति नजुटेपछि नेताहरु साढे ३ बजे फेरि बैठक बस्ने गरी उठेका थिए ।

त्यसपछि संसद बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने ठोस सहमति नभएपछि संसद बैठक मंगलबारसम्मलाई सारिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us