ललितानिवास प्रकरणबारे बाबुरामः छानबिनमा सहयोग गर्छु, दोषी देखिए कारबाही होस्

काठमाण्डु टुडे २०८० साउन २२ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, २२ साउन– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा ल्याइएको प्रकरणबारे छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा ललिता निवासबारे भएका निर्णयउपर निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सर्वोच्च अदालदतले आइतबार पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र माधवकुमार नेपाललाई ललिता निवास प्रकरण छानबिनको दायरामा ल्याउन आदेश दिएको थियो ।
भट्टराईले ललिता निवासलगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढॅगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने आफ्नो आजीवन मान्यता र प्रतिबद्धता रहेको बताए ।

‘मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह’, भट्टराईले भनेका छन्, ‘ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ ।

केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानवीनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us