एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्य एमालेमा फर्किए

काठमाण्डु टुडे २०८० साउन २१ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, २१ साउन– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य एमालेमा फर्किएका छन् ।

एकीकृत समाजवादीले साधारण सदस्यसमेतबाट निष्काशन गरेलगत्तै कर्माचार्य एमाले प्रवेश गरे । कर्माचार्य, अर्का केन्द्रीय सदस्य उपेन्द्र तामाङसहित एकीकृत समाजवादीका दर्जनौं कार्यकर्ता एमाले फर्किएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले कर्माचार्यलाई शुक्रबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

कर्माचार्य पार्टीमा फर्किएपछि एमाले पोलिट्ब्युरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज गोकुल बाँसकोटाले सिन्धुपाल्चोकमा एमाले एक ढिक्का भएको बताएका छन् ।

समाजवादीका बचेखुचेका सबै एमाले फर्कने उनले सामाजिक सञ्जालामा लेखेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेता अमृत बोहरा, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज बाँस्कोटा सहभागी थिए ।

उनीहरुले एमाले फर्किएका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us