
काठमाण्डु, ८ साउन– ट्रायल पास नगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– १३ का ३० वर्षीय राजु परियार छन् । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको लुभुबाट पक्राउ गरेको हो ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै ठगी गर्दै आएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
परियारले पीडितहरुबाट सुन र नगद गरी चार लाख ३० हजार ठगी गरेको उजुरी परेको बताए । प्रहरीले परियारले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालक कलंकी सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।
पक्राउ परेका दुवैलाई ठगी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको रेग्मीले जनाए ।