
सुनसरी, ६ साउन– विराटनगरका २८ वर्षीय रोहित चौधरीको शुक्रबार साँझ कोशी राजमार्गअन्तर्गत सेउती पुल नजिकै जंगलमा गोली हानी हत्या भयो ।
मोटरसाइकलमा विराटनगर फर्कंदै गरेका विराटनगर महानगरपालिका–५ का स्थायी बासिन्दा चौधरी पानी पिउन जंगल बीचमा रोकिएका थिए । त्यति नै बेला फिल्मी शैलीमा जंगलबाट निस्किएको तीन जनाको समूहले चौधरीमाथि गोली चलायो । चौधरी गम्भीर घाइेत भए । दाहिने कोखमा गोली लागेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गयो ।
चौधरीसँगै मोटरसाइकल पछाडि एक युवती थिइन् । घटनामा उनी सकुशल छिन् । उनी मृतकको ‘गर्लफ्रेण्ड’ भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका एसपी प्रभु ढकालले युवतीका परिवारले उनीहरुबीच तीन वर्षदेखि सम्बन्ध रहेको जानकारी गराएको बताए ।
ढकालका अनुसार चौधरीको जन्मदिन मनाउन उनीहरु भेडेटार हुँदै मुलघाट गएर फर्कने क्रममा घटना भएको हो । घर फर्कने क्रममा तिर्खा लागेपछि चौधरीले सेउती पुलबाट राजमार्ग छाडेर मोटरसाइकल पानमारा जाने सडकतर्फ एक सय मिटर भित्र लगेर रोकेका थिए ।
‘परिवारबाट उनीहरु ब्याईप्रेण्ड गर्लफ्रेण्ड हुन् भन्ने कुरा आएको छ’, ‘ढकालले काठमाण्डुटुडेसँग भने, ‘सम्बन्धको कारणले घटना भएको हो कि होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।’