बालेन्द्र साहजस्तो ‘नालायक’ र असक्षमको कुरै नगरौं

काठमाण्डु टुडे २०८० साउन १ गते १५:०० मा प्रकाशित

काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको ओखरपौवा र धादिङको धुनेबसीका स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।  यसअघि पटकपटक भएका सहमति पालना नभएको भन्दै उनीहरुले आइतबारदेखि फोहोर बोकेका गाडी बाटैमा रोकेका छन् । धादिङ र नुवाकोटको सीमाना आलेटार नजिकै कोल्पु खोला पुलमा जम्मा भएर स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयको आन्दोलनमा ककनी र धुनेबेसीका जनप्रतिनिधिले समेत ऐब्यबद्धता जनाएका छन् । पटकपटक फोहोरको विषयलाई लिएर हुँदै आएको आन्दोलनको कारण र समाधानबारे काठमाण्डुटुडेले प्रभावित क्षेत्रका बासिन्दा एवं ओखरपौवा स्यानेटरी ल्याण्डफिल साइट मुख्य समन्वय समितिको पूर्वअध्यक्ष राममणि घिमिरेसँग कुराकानी गरेको छ । प्रस्तुत कुराकानीको सम्पादित अंशः

खासमा एक्कासि फोहोर चाहिं किन रोक्नुभएको हो ?
फोहोरका कारण मानिसहरु मर्ने अवस्था छ । जथाभावी र अव्यवस्थित रुपमा फोहोर फालिँदा त्यस्तो भएको हो । फोहोर फालेपछि निश्चिित परिमाणमा माटोले छोप्नुपर्ने र झिँगा मार्ने विषादी छर्कनुपर्नेमा त्यो गरिएको छैन । प्रभावित क्षेत्रका बासिन्दासँग काठमाण्डु महानगरपालिका र सहरी विकास मन्त्रालयले पटकपटक सहमति गरेका छन् । तर, ती सहमतिहरु पालना भएनन् । यही कारण हामीले बाध्य भएर फोहोर रोकेका हौं ।

तपाईंहरुका माग जायज होलान्, तर काठमाण्डु उपत्यकाको वातावरण  बिग्रने गरी फोहोर नै बन्द गर्नुपर्ने अवस्था हो र ?
काठमाण्डुमा मात्र फोहोर थुप्रन नहुने ? हामी चाहिं फोहोरको थुप्रोमाथि बस्नुपर्ने ? फोहोरका कारण नुवाकोटको ककनी गाउँपालिकाका १, २, ३ र धादिङका धादिङ धुनेबेशी नगरपालिकाको १ र ३ नम्बर वडामा दुर्गन्ध फैलिएको छ । दुई जिल्लाका पाँच वडामा बसोबास गर्ने करिब ६० हजार मानिस प्रत्यक्ष प्रभावित छन् । गाउँभरी करोडौंको संख्यामा झिँगा छ । झिँगाको प्रकोपले भान्छामा बसेर खानेकुरा खान सक्ने अवस्था छैन । दूषित खानाका कारण झाडाबान्ता, ज्वरो, आउँजस्ता रोगका कारण सयौं बिरामी छन् । वर्षमा २० देखि २५ जनाको क्यान्सरका कारण ज्यान गइरहेको छ । हामीले भनेको यत्ति हो कि व्यवस्थापकीय कमजोरी भयो । गन्हाएर बस्न सक्ने अवस्था छैन । औषधि राख्नुपर्ने, माटोले फोहोर छोप्नुपर्ने काम भएन । हामीलाई आफ्नो घरमा बस्न पाउने वातावरण बनाइदिनुस् । धेरै जनाले घरबार छाडेर काठमाण्डुमा डेरा लिएका छन् ।

विगतका सहमति पालना भएनन् भन्नुभयो, सहमतिहरु के–के थिए ?
एउटा/दुईटा मात्र होइन । फरकफरक मितिमा दर्जनौं सहमति भएका छन् । बालेन्द्र साह काठमाण्डुको मेयर निर्वाचित भएर आएपछि मात्र १८ बुँदे सहमति भएको छ । व्यक्तिसँग होइन, ककनी गाउँपालिका र धुनेबेसी नगरपालिकासँग संस्थागत सहमति भएको थियो । तर, त्यसको कार्यान्वयन भएन । फोहोर व्यवस्थित ढंगले मात्र फाल्ने, फोहोरको थुप्रोमा झिँगा मार्ने विषादी छर्कने, स्वास्थ्यचौकी र विद्यालयको स्तरोन्नती गर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने, विकास निर्माणका काम गर्ने यावत सहमति भएका छन् । तर, ती कुनै पनि सहमति पालना भएको छैन । बालेन्द्रजीले महानगरको मात्र होइन, काठमाण्डु उपत्यकाका १८ वटा नगरपालिकाको जिम्मा लिएर सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

तपाईं बालेन्द्रले केही गरेनन् भन्नुहुन्छ । उनको कामको सबैतिर वाहवाही छ ?
केही पनि काम गरेका छैनन् । मात्र स्टण्टबाजी गरिरहेका छन् । पेट पाल्ने विकल्प नभएर सडकमा मकै पोलेर जिविका चलाइरहेका निहत्था, फुटपाथमा व्यापार गर्नेहरुलाई लखेट्ने र पार्किङमा राखिएका मोटरसाइकल नियन्त्रणमा लिने र थुनिएका खोलामा डोजर चलाएर देशै बनाएँजस्तो गरी हल्ला गरिरहनुभएको छ । बालेन्द्रले चुनावको परिणाम सार्वजनिक भएको दिन सिसडोल आएर फोहोर व्यवस्थापन नभएसम्म मालासम्म लगाउँदिन भन्नुभएको थियो । उहाँले बोलेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा हेर्न सकिन्छ । उहाँले त्यति बोलेपछि हामी प्रभावित क्षेत्रका मानिसहरुमा हौसला बढेको थियो । केही हुन्छ कि भन्ने आशा जागेको थियो । तर, अहिले त उल्टै यहाँका मानिसहरुलाई सत्तोसराप गरिरहनुभएको छ ।

फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरको मात्र हो कि संघीय र प्रदेश सरकारको जिम्मेवारीभित्र पनि यो विषय पर्छ ?
सरकारले फोहोर फाल्न जग्गा उपलब्ध गराइदिने हो । सरकारका तर्फबाट बञ्चरेडाँडामा जग्गा उपलब्ध गराएर फोहोर फाल्ने ठाउँको समेत निर्माण भएको छ । बाँकी व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको हो ।

फोहोर रोकेकामा सामाजिक सञ्जालमा चपाईंहरुको विरोध भइरहेको देख्नुभएको छ ?
हो सामाजिक सञ्जालमा यहाँका मानिसलाई गाली गेरका छन् । सहरमा कोठाभित्र बसेर बियर र मासु खाएर गाली गरिरहेका छन् । ती गाली शिरोमणिहरुलाई यहाँ आएर एक घण्टा मात्र बिताउन र एक छाक खाना खाएर गइदिन आग्रह छ । भोजको आयोजना हामी नै गर्छौं । होइन भने कुरै नबुझी राज्यबाट पीडितहरुप्रति सहानुभूति देखाउनुको साटो उल्टै गाली गर्न पाइँदैन । चिल गिद्धहरुले हाम्रा घर घेरिरहेका छन् । झिंगाले मान्छे खालाजस्तो जस्तो अवस्था छ । घरै अगाडि कुकरले मानिसको शव घिसार्दै ल्याएर लुछेर खान्छ । त्यो दृश्यको कल्पना मात्र गर्दा पनि कस्तो हुन्छ ? बास्तवमा सिडडोलको अवस्था बिकराल नै छ । काठमाण्डु र विदेश बसेर सिसडोलका बारेमा नचाहिंदो चर्चा बन्द गर्न म आग्रह गर्दछु ।

तपाईंहरुले फोहोरमा राजनीति गरिरहनुभएको छ नि त ?
राजनीति भनेको के हो ? के देशमा अहिले चुनाव छ र ? हाम्रोतिर त चुनावका बेलामा हुन्छ राजनीति । उम्मेदवार आउँछन्, भोट माग्छन् । भोट माग्ने र हाल्ने बेलामा मात्र राजनीति हुन्छ भन्ने थाहा पाएको हो मैले त । जिम्मेवारीअनुसार काम गर्न नसक्ने अक्षम मानिसहरुले र अराजक भिडले लगाएको आरोप मात्र हो । फोहोर गन्हायो, झिँगाले टोकेर मानिसको ज्यान जाने अवस्था आयो, घरमा बस्ने वातावरण बनाइदिनुस् भन्दा राजनीति हुन्छ ? बालेन्द्र साहको नालायकी, असक्षमता र अकर्मण्यताको दोष हामीलाई लगाउँन पाइँदैन ।

महानगरपालिकाले अग्रसरता लिएर समस्या समाधान गर्नेबारे बोलायो भने वार्तामा जानुहुन्छ ?
अहिलेको अवज्ञा आन्दोलनमा दुवै पालिकाका अध्यक्ष र मेयर, पाँचै वपडाका वडाअध्यक्षसहित जनप्रतिनिधिहरुको समर्थन मात्र छैन, उहाँहरुको भौतिक रुपमै सहभागिता छ । विगतमा जसरी घाँस हालेर हामी मान्दैनौं । सहमतिका नाममा एक छिन घाँस हाल्ने, आफ्ना मानिस ल्याएर ताली बनाउने र हामीलाई उल्लु बनाउने काम अब सम्भव छैन । सिसडोलबासीले चाडपर्वको मुखमा फोहोर रोक्छन् भन्ने नालायकहरुको हामीसँग वार्तामा बस्ने औकात पनि छैन ।

समस्या समाधानको विकल्प त संवाद नै होला नि ?
समस्याबारे काठमाण्डु खाल्डोलाई बुझाउँदा बुझाउँदा १९÷२० वर्ष बित्यो । हाम्रो काम नै समस्या बताउने हो, फोहोर गन्हायो भन्ने हो । फोहोरका कारण शारीरिक रुपमा त सबै मानिस रोगी छँदै थिए, २० वर्षसम्म एउटै कुरा गर्दागर्दा मानसिक बिरामी हुने अवस्था आइसक्यो । वार्तामै बस्दैनौं भन्ने पक्षमा हामी होइनौं । तर, निस्कर्षपूर्ण छलफल हुँदैन भने वार्ताको औचित्य छैन । फेरि झुक्याउने र उल्लु बनउने गरी अब वार्ता हुँदैन । समाधान बिना हामी पछि हट्दैनौं । बालेनको स्टण्डबाजी अन्त चल्छ होला सिसडोलमा चल्दैन ।

ककनी गाउँपालिकाले एक गाडी फोहोरको १५ सय रुपैयाँ कर लगाउने घोषणा गरेको थियो, त्यसमा चाहिं तपाईंहरुको धारणा के छ ?
करको विषय स्थानीय निकायको अधिकारको कुरा हो । गाउँपालिकाको निर्णयविरुद्ध अदालतमा रिट परेको छ । अदालतमा विचाराधीन विषयमा थप केही नभनौं । तर, प्रहरी लगाउने, मुद्धा हाल्ने, सञ्चार माध्यमको दुरुपयोग गरी सिसडोलका मानिसलाई हुर्मत लिने काम रोकियोस् भन्न चाहन्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us