
काठमाण्डु, १० मंसिर– गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा दुरुपयोग गरिएका ३ सय १६ सुरक्षाकर्मी फिर्ता गरेको छ ।
उनीहरुलाई बहालवाला र पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटाइएको थियो । उनीहरुमध्ये अधिकांश भीआईपी सुरक्षामा भन्दा घरासयी काममा सक्रिय हुने गरेका थिए ।
प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलमा उठेका पश्नको जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त जानकारी दिए ।
उनले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि–२०७७ को प्रावधानविपरीत नेपाल प्रहरीका १ सय ९० र सशस्त्र प्रहरी बलका १ सय २६ जना सुरक्षाकर्मी फिर्ता गरिएको जनाए ।
उनले सरकारले कार्यविधि नै बनाएर सुरक्षाकर्मी फिर्ता गरेको जानकारी सदनलाई गराए । श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०८० को मस्यौदासमेत तयार भएको बताए ।