दबाब र प्रलोभनमा हुने धर्म प्रचार रोक्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० असार १० गते १४:४१ मा प्रकाशित

काठमाण्डु, १० असार- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्वाध नछोडिने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन।बैठकमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताएका हुन्।

‘दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई भने निवाध छोड्न सकिँदन। यो कुरामा पनि सरकार गम्भीर छ र रहनेछ’ गृहमन्त्री श्रेष्ठले भने।

धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रुपले परिवर्तन गर्न छुट रहने उनले बताए।‘तर, व्यक्तिको आस्था रहेको धर्म जस्तो संवेदशनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्ती नै धार्मिक रुपान्तरणको प्रक्रियामा जाने स्थितिको भने राज्य र हामी सबै गम्भीर र संवेदनशील हुनुपर्ने अवस्था छ भन्ने माननीयहरुको ध्यानाकर्षण प्रति सरकार गम्भीर रहनेछ’ उनले भने ।

नेपाल धर्मनिरपेक्ष राज्य रहेको र धर्म निरपेक्ष राज्यले राज्यलाई धर्मबाट अलग राख्ने उल्लेख गर्दै उनले भने, ‘‘धार्मिक स्वतन्त्रता पनि हाम्रो संविधानले, हाम्रो प्रणालीले ग्यारेन्टी गरेको छ।

धार्मिक स्वतन्त्रतालाई हामी सम्मान गर्छौं। त्यसलाई सुनिश्चित गर्छौं। त्यसमा कुनै पनि प्रकारको दबाब करकापबाट मुक्त रही आफ्नो धार्मिक आस्था र धार्मिक विश्वास अनुसार आफनो जीवन मूल्य जीवन आचरण अगाडि बढाउने वातावरण सरकारले सुनिश्चित गर्नेछ ।श्रेष्ठले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us