भैरहवामा मिटरब्याजीको घर विप्लव समूहको कब्जामा

काठमाण्डु टुडे २०८० असार ९ गते १६:१३ मा प्रकाशित

काठमाण्डु ,९ असार- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले बताए ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितहरुले बताएका छन् ।

बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन् । उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।नेकपामा उजुरी परेपछि पार्टीले पीडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याजमार्फत असुली गरेको देखिएको दावी सो पार्टीको छ ।

पीडित ऋणी, स्थानीयसहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिएको हो । प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित बिरोध सभा आयोजना गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us