मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाण्डु टुडे २०८० असार ६ गते १४:१३ मा प्रकाशित

काठमाण्डु ,६ असार-त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

चलाउनेले आफ्नो रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । रिट दर्ता भएसँगै त्यसको पेशी भोलि बिहीबारका लागि तोकिएको छ ।

चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गरेका छन् ।उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाण्डु जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको विरोध गदै चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन पनि सुरु गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us