
काठमाण्डु ,६ असार- जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई धनगढीको रंगशालामा राखिएको छ।
बिहान राखिएको मन्त्री सिंहको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण भइरहेको छ। क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मन्त्री सिंहको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि धनगढीमा श्रद्धाञ्जली सभा सम्पन्नपछि हेलीकप्टरमार्फत् गृह जिल्ला बझाङ लगिने भएको छ।आज सुदूरपश्चिम सरकारले शोक बिदा दिएको छ।
मन्त्री सिंहको गृह जिल्ला बझाङ जाने क्रममा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना परेर मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो