बेपत्ताको खोजी, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री ‘प्रचण्ड

काठमाण्डु टुडे २०८० असार ४ गते ११:२९ मा प्रकाशित

काठमाण्डु ,४ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन आग्रह गरेका थिए ।

यस्तै, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराए । भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण बिबरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको जानकारी गराए।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए ।

भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us