ज्योति भण्डारीलाई कम्बोडियाबाट आज काठमाण्डू ल्याइँदै

काठमाण्डु टुडे २०८२ असार ४ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, ४ असार– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट आजै नेपाल ल्याउने तयारी गरीएको छ ।

आरोपी भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिश जारी भएको थियो । भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका छन् । बुधवार राति सिंगापुर एयरलाइन्सको उडानमार्फत भण्डारीलाई काठमाण्डू ल्याउन लागिएको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार भण्डारी राति १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका हुन् । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us