
ताप्लेजुङ, ३ असार– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पहिरोले स्थानीय यादव बुढाथोकीको घर बगाउँदा उनकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । पहिरोमा सोही ठाउँका भरत तामाङ बेपत्ता भएका छन् ।
घटनास्थलमा साब्लाखु प्रहरी चौकीबाट प्रहरी खटाइएको प्रजिअ चेम्जोङले बताइन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकामा क्षति पुगेको छ । तर, ठूलो वर्षा भएकाले उद्धारमा कठिनाइ भएको छ ।
बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएको छ ।
वसन्तपुर क्षेत्रबाट सडक पनि कटानमा परेकाले ताप्लेजुङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।