ताला तोडेको भन्दै मेयर बालेनविरुद्ध क्रान्तिकारीद्वारा सङ्घर्षको घोषणा

काठमाण्डु टुडे २०८० असार २ गते १८:१० मा प्रकाशित

काठमाण्डु,२ असार– नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काटठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह‘बालेन’ले आफ्नो संगठनले विद्यालयहरूमा लगाएको ताला खोलेकोप्रति आक्रोशित हुँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन ।

आज (शनिबार) राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको उनीहरुले आरोप लगाएका छन ।

मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले आरोप लगाएका छन ।

उनले भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’ गरिब, जेहेन्दार र अल्पसङ्ख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था भएको र त्यस विरुद्ध कोही पनि जानु घातक हुने चेतावनी दिएका छन ।

उनले विगतमा मेयर साह पनि अखिल क्रान्तिकारीको सदस्य रहँदा गरिब र किसानका छोराछोरीको पक्षमा वकालत गरेको तर आज चटक्कै भुलेर उनीहरूमाथि नै घात गर्न थालेको कार्कीले लगाएका छन ।

उनले आज तिनै गरिब माथि निरन्तर खनिनु दुर्भाग्य भएकोमा प्रश्न गर्दै भने,‘तपाईंले उनीहरूको आवाज सुन्न पर्दैन ? गरिबका छोराछोरीले १० प्रतिशत छात्रवृत्ति पाउँदा तपाईंलाई केको टाउको दुखाई भयो ?’

चन्दा नदिएकोले आन्दोलन गरेको भन्ने आरोपलाई खण्डन गदै भने, ‘यदि हाम्रो संगठनलाई कहीँ कतैबाट चन्दा नदिँदा आन्दोलन गरेको प्रमाण भए पेस गर्नुस् सजाय भोग्न तयार छौँ ।’

सो संगठन काठमाण्डु जिल्ला समिति इन्चार्ज यादव ढुङ्गानाले काठमाण्डु भित्रका विद्यालयहरूले दिने १० प्रतिशत छात्रवृत्तिको नामावली प्रकाशित गर्ने मागलाई बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन ।

आन्दोलनलाई बेवास्ता गरेको बताउँदै भने, ‘संगठनलाई वार्तामा नबोलाई बालेनले महानगर पुलिस लगाएर ताला फोडे अब यसको परिणाम भयानक हुन्छ ।’

गरिब र जेहेन्दार विद्यार्थीहरूलाई दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्छ भन्दा बीचमा मेयरसाब आउनुहुन्छ, के अब हामीसँग निहुँ खोज्नु नै भएको हो त, ढुङ्गानाले प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us