
काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै पनि त्यस्तो औचित्य नभएको दावी गरेका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताएका छन ।
उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’ ओलीले प्रश्न गरे ।
उनले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।
उनले भने, ‘यो चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्व एक ठाउँमा जम्मा भएर शराष्ट्रिय शक्ति बन्दैन’ एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ ।
०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’ उनले अहिले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको बताएका छन ।