अर्काको नाममा लोक सेवाको परीक्षा दिने एक जना नासु पक्राउ

काठमाण्डु टुडे २०८० जेठ ३१ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना नायब सुब्बा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा ना सु पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन ।

पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज–११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएको आरोप लागेको छ ।

सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत रहेका छन । सुतियारलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन ।

दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us