नेपालमा यसपटक १५ दिनअघि नै भित्रियो मनसुन

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १७:४७ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– यस बर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिए ।

‘नेपालका अन्य भू–आगहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बॉकी भू–आगमा भने पश्चिमी वायू र स्थानीय वायुको प्रभाव यथावत् देखिन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रुपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जोशीले जानकारी दिए ।

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सर्वाजनिक गरेको आगामी मनसुनको हावा पानी आकलन अनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

‘यस ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us