
काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तले उखान भनेपछि नियमापत्ति व्यक्त गरेका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि ढकालले नियमापत्ति जनाएका हुन ।
सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताएका थिए ।
सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति व्यक्त गरेका हुन । उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह समेत गरेका छन ।
ढकालले नियमापत्ति जनाएपछि सो उखान भनेकोमा सांसद पन्तले क्षमायाचना गरेका छन । सांसद पन्तले धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा आएको तर बजेटमा प्रतिष्ठान बनाउने कुरा आएको बताउँदै गेटा कलेजमाथि राजनीतिक खेलबाड भएको पनि बताएका थिए ।