निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

काठमाण्डु टुडे २०८० जेठ २५ गते १६:१६ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।

संविधानमा भएको व्यवस्था विपरित सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन ।

१५ जेठमा संघीय संसदमा प्रस्तुत बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लगिएको छ ।

निरन्तर रुपमा क्रियाशील भइरहनु पर्ने निकाय खारेज गर्नु संविधान विपरीत भएकाले आफूहरुले पनि प्रधानमन्त्री र मन्त्रीहरुसँग पनि भेट्ने उनले बताएका छन ।

उनले भने, ‘आयोगको परामर्श बिना सरकारले कुनैपनि संरचना चलाउन पाइँदैन। निर्णय नसच्चिने हो भने आयोग र सरकारबीच संवैधानिक खाडल श्रृजना हुन्छ। यस्तै भयो भने आयोग अन्य विकल्पमा जानुपर्ने अवस्था हुनसक्छ।’

उनले प्रशासनिक नेतृत्वले गरेको निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय हुँदैन भन्ने मान्यताका कारण जिल्ला न्यायाधीशको नेतृत्वमा निर्वाचन गर्ने गरी संवैधानिक व्यवस्था भएकोतर्फ सरकार सचेत हुनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us