कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

काठमाण्डु टुडे २०८० जेठ २५ गते १५:१२ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन ।

उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको छ । आज बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले जानकारी दिएका छन ।

रानाले आफू सवार गाडीमा कालो मोबिल पोखिएको बताएका छन । उनले भने,‘इलामबाट भित्रीबाटो तराई फर्कदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हाले’ ‘शान्तिपूर्ण आन्दोलन भन्थे तर त्यस्तो देखिएन ।’ आन्दोलनकारीले ढुंगा पनि प्रहार गरेका थिए ।

पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उनी चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए ।

त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए । १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा जारी राखेका छन ।

आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us