राँगा र भैंसीको गफले पाउने गोबरमात्र हो: रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ २५ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं । जस्ता जस्ता विषयमा हामीले छलफल गर्‍यौं । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् । हामी कहिँ न कहिँ लज्जित भएका छौं’ ।

उनले सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने लामिछानेले बताएका छन । उनले भने, ‘हामी आत्मालोचना गर्न चाहन्छौं ।

हाम्रा दलबाट भएका कमजोरीमा आम्मालोचना गर्न चाहन्छौं’ ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’

उनले आफ्नो भागको कमी कमजोरीको जिम्मा लिने भन्दै उनले भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भम्रण र सार्वजनिम महत्वको विषयमा संसदलाई सम्बोधन गरेका थिए ।

त्यसै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगामात्र भएको बताएका थिए । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको कुरा उठेको भनेका थिए ।

त्यस विषयमा केहीबेर संसदमा विवाद पनि भएपछि रास्वपा सांसदले बोलेको भैंसी चढेर आएको भन्ने वाक्यांश संसदको रेकर्डबाट मेटाइएको थियो ।

रास्वपा सभापति लामिछानेले सदनमा भएको बहसले मुलुक र नागरिकको अनुहार परिवर्तन गर्न सक्नुपर्ने बताएका छन । उनले संसदमा ७ प्रदेशका प्रमुख अस्पताल, मधेशका सामुदायिक विद्यालय र त्रिभुवन विमानस्थलबाट विदेश जाने नेपालीहरुको लाइभ सीसीटीभी फुटेज राख्न प्रस्ताव गरे ।

‘हामीले गरेको नीति निर्माणले ५ वर्षअघि र ५ वर्षपछि के फरक प¥यो हेरौं’ उनले भने । उनले त्यसो नगर्ने र संसदमा राँगा भैंसीकै विषयमा बहस चलाइरहने हो भने जनतामा निराशा छाउने र आउँदो चुनावमा मुख देखाउन नसकिने बताएका छन ।

उनले भने, ‘आज सम्बन्धित मन्त्री र पहुँच भएको सांसदको जिल्लामा बजेट बाँडफाँटलाई हेर्ने हो भने, ५ वर्षको गतिविधि र यीनै बजेटका आधारमा फेरि जनताको माझमा भोट माग्न जाँदा नेपाली जनताले हामीलाई पत्याएर भोट दिन्छन् ? ‘नेपाली जनताले विवेक प्रयोग गरे भने दिने छैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us