काठमाण्डु, २२ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक रुपमै सीमा समाधान गर्छौं भनेर पहिलो पटक बोलेको भन्दै उनले भने, ‘यताउता गर्यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको छु ।’
उनले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताएका छन । उनले भने, ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’
उनले बरु एमाले निकट वुद्धिजिवीहरुले नै बंगलादेशसँग पहुँच हुने हो भने विकल्पमा जान सकिन्छ भनेको बताएका छन । प्रधानमन्त्री प्रचण्डले भने, तपाईँहरुसँग नजिक भएका वुद्धिजिवीहरले भनेका छन् । नाम भन्नै बल गर्नुहुन्छ भने मलाई अप्ठ्यारो छैन ।’