रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाण्डु टुडे २०८० जेठ २१ गते १६:४९ मा प्रकाशित

काठमाण्डु २१ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

आइतबार रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको रास्वपा का सचेतक सन्तोष परियारले बताए।

गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गरेका छन् ।‘

यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’, संकल्प प्रस्तावमा भनिएको छ ।

संकल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us