गेरुबस्त्रबारे प्रचण्डको प्रष्टीकरणः अर्बौैं भारतीयको मनमा ठेस लगाउन चाहिन

काठमाण्डु टुडे २०८० जेठ २० गते १९:४८ मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षताको पक्षमा रहेको र कुनै धर्मको विरोधमा नरहेको बताएका छन् ।

भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका क्रममा धारण गरेको गेरु बस्त्रबारे प्रष्टीकरण दिएका हुन् ।

आफू मनैदेखि धर्मनिरपेक्षतावादी भए पनि कुनै धर्मविरोधी नभएको उनको भनाइ थियो । उज्जैनको महाकालेश्वर मन्दिरमा पूजा गर्दा उनले गेरु बस्त्र धारण गरेका थिए । नेपालमा उक्त विषयमा गलत चर्चा भएको भन्दै आपत्ति जनाए ।

प्रोटोकल अनुसार गेरु बस्त्र धारण गरिएको उनको प्रष्टीकरण थियो । ‘गेरुबस्त्र मैले प्रटोकलअनुसार लगाएँ। त्यहाँ लगाउनैपर्ने रहेछ ।नलगाएर अर्ब जनसंख्या भएको भारतीय नागरिकको सम्मानलाई ठेस पुर्‍याउने कुरा पनि भएन । यदि त्यसो गरेको भएँ, उहाँहरुको मनमा चिनसो पस्न सक्थ्यो । कस्तो प्रधानमन्त्री भन्नुहुन्थ्यो होला’, प्रचण्डले भने ।

पूजाका क्रममा बिरामी पत्नी सीताका लागि कुनै प्रार्थानासमेत नगरेको उनले स्पष्ट गरे । रुद्राक्ष भने परराष्ट्रमन्त्री एनपी साउदले लिएर गएको उल्लेख गरे । ‘परराष्ट्रमन्त्रीजीले लग्नुभएको रुद्राक्ष छुँदिन पनि भन्नुभएन । पत्नीको स्वास्थ्य लाभको लागि त्यसो गरेको भनियो । संसारलाई थाहा छ उनको स्वास्थ्य निको हुने खालको छैन’, प्रचण्डले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us