सीमा विवादमा मोदीको अग्रसरताबाट उत्साहित छुः प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ २० गते १९:३८ मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा समस्या समाधानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको अग्रसरताबाट आफू उत्साहित भएको बताएका छन् ।

चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले मोदीको प्रस्तावले उत्साहित भएको बताए ।

नेपाल–भारतबीच सीमा विवादको अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । ‘नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो ।

यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ । यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो’, प्रचण्डले भने, उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनुभएको छ । सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु ।’

प्रधानमन्त्रीले भारतसँग विद्युत क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले नयाँ आयाम थपिएको बताए । उनले एयर रुटका विषयमा समेत छलफल भएको उल्लेख गरे । एक मात्र नभई भारतसँग तीन रुट दिन भनिएको प्रधानमन्त्रीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us