ओलीलाई रमेश लेखकको व्यंग्य- महाकाली किनाराको मान्छे, पानीजहाज चढ्दा स्वर्गानुभूति हुन्छ भन्ठानेथे

काठमाण्डु टुडे २०८० जेठ १३ गते १८:४९ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएका पानीजहाजको एजेण्डा कहाँ कार्यान्वयन भयो भन्दै प्रश्न गरेका छन्।

शनिवार प्रतिनिधि सभाको बैठकमा छलफलमा भाग लिँदै लेखकले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेका छन।सरकारको नीति तथा कार्यक्रम आर्थिक सुधार गर्ने, भ्रष्टाचार रोक्ने, शासकीय सुधार गर्ने, रोजगारीमा वृद्धि गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार, भौतिक पूर्वाधार विकास गर्ने किसिमले आएको दाबी गरेका छन् ।

उनले नीति तथा कार्यक्रममाथि १५ घण्टा बढी छलफल भएको बताउँदै कांग्रेस संसदीय दलले कार्यक्रमलाई समर्थन गर्ने बताए ।उनले भने–‘म त महाकाली नदी किनाराको मानिस एक वर्षको नीति कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो ।

नीति कार्यक्रम पढ्दै थिएँ । कञ्चनपुर जिल्लाबाट पानीजहाज चढेर डडेल्धुरा हुँदै बैतडी भएर दार्चुलासम्म पुग्ने मैले अनुभूति गरेँ । मलाई बढो स्वर्गको अनुभूति जस्तो भयो ।

उनले अगाडि भने–‘पानीजहाज पनि चानचुनै हैन, नर्वेजियन क्रुज जस्तै होला भन्ने अनुमान गरेँ । त्यो दिन म झसङ्ग भएर वास्तविकताका र यथार्थको धरातलमा झरेँ जुन दिन त्यो महाकाली नदीमा म जस्ता मानिसहरू पानीजहाज चढेको हैन, जयसिंह धामी तुइनबाट लडेर महाकाली नदीमा डुबेर मरे ।

महाकाली नदीमा नर्वेजियन क्रुजको यात्रा र तुइन चुँडिएर त्यसै नदीमा मानिस मर्नुको बीचको अन्तर त्यो खाडल हो हाम्रो यथार्थ ।उनले सत्ता पक्ष र प्रतिपक्षबीच दुई मिटरको समस्या भएको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us