ओलीलाई विश्वप्रकाशको जवाफ-फैसला सुनाउन हामी न्यायाधीश होइनौं

काठमाण्डु टुडे २०८० जेठ १३ गते १८:०६ मा प्रकाशित

काठमाण्डु,१३ जेठ- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाट बोलेको कुरामा विरोध जनाएका छन्।

शनिबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लीदै शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भन्ने ओलीको अभिव्यक्तिप्रति को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए ।

उनले को दोषी र को निर्दोष भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले कोही अमुक ब्यक्ति दोषी, निर्दोष रहेको कुरा रोष्ट्रमबाट फैसला सुनाउन नहुने बताए। शर्माले भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं ।’

उनले अगाडि भने, ‘अमुक कोही निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्तिमा विमति जनाउन चाहन्छु ।’कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भएपनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए ।

उनले सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला सत्तापक्ष र प्रतिपक्ष दुबैले साथ दिनुपर्ने पनि बताए। सरकारलाई साथ दिने समय हो। भ्रष्टाचारको फाइल खोलेको सरकारलाई बधाई छ भन्ने बेला हो। यो समय सरकार बाहिर रहेको दलले पनि सरकारलाई सहयोग गर्ने समय हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us